कृषि नै रोजगारीको मुख्य क्षेत्र : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा,भदौ ४ । बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरे ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आयोजना गरेको प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अब ऐन बनाएर श्रम तथा रोजगार नीतिलाई कार्यान्वयन गरिने बताए ।
उनले नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउँदै सीप सिकेकालाई वैदेशिक रोजगारीमा पठाउनु आवश्यक छ, उनले भने । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले संविधानको मर्मभित्र बसेर प्रदेशले श्रम नीति बनाएको बताउँदै सीपयुक्त नागरिक उत्पादनलाई नीतिले प्राथमिकता दिएको बताए ।

