प्रधान न्यायाधीशमा श्रेष्ठ नियुक्त



काठमाडौं,भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले कामु प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सोमबार राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गरेका हुन् ।

यसअघि सोमबार नै संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।  समितिले सोमबार श्रेष्ठलाई सुनुवाइका लागि आमन्त्रण गरेको थियो । सुनुवाइपछि श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए । 

सुनुवाइका क्रममा श्रेष्ठले न्यायपालिका सुधारका लागि यसअघि भएका अध्ययनलाई क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । श्रेष्ठले न्यायाधीशको पदपूर्ति, फैसला कार्यान्वयनलगायतका कामलाई पनि प्रथमिकतामा राख्ने बताए । सांसदका प्रश्नका जवाफका क्रममा प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले मुद्दा फस्र्योटमा ढिलाइ हुनुमा विभिन्न कारण रहेको बताए । न्यायका सर्वमान्य सिद्धान्त, प्रक्रियागत व्यवस्थाका कारण पनि मुद्दा फस्र्योटमा ढिलाइ हुने समितिसमक्ष उनले धारणा राखे ।  

श्रेष्ठले मुद्दाको फरक व्यवस्थापन प्रणाली लागु गर्न आफू प्रतिबद्ध रहेको बताए । आफूमाथि परेको उजुरीबारे जवाफ दिँदै श्रेष्ठले क्यापिटल मर्चेन्टको उक्त विचाराधीन मुद्दामा चलखेल गरेको भन्ने तथ्यहीन रहेको बताए । बिचौलियाको नाम लिइएका व्यक्तिसँग आफ्नो चिनजानसमेत नभएको जवाफ समितिमा श्रेष्ठले  दिए । 

प्रतिक्रिया दिनुहोस्