नेपालको अन्तर्राष्ट्रिय व्यापार: प्रमुख आर्थिक साझेदारसंग घाटा–नाफा ?



काठमाडौं,भदौ १२ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा नेपालले विश्वका १०९ वटा देशसँग व्यापार गरेको छ । 

वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटा छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो महिनामा ९२ वटा देशहरूसँग व्यापार घाटा छ । साउनमा १०९ वटा देशहरूमा भएको व्यापारमा १७ वटा देशसँग भने नेपालले नाफा गरेको देखिन्छ ।

चालु आवको पहिलो महिनामा नेपालले १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा व्योहोरेको छ । साउनमा नेपालले १ अर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि नै व्यापार घाटा बढेको हो । अघिल्लो आवको तुलनामा आयात १.६५ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले गिरावट आएको छ । 

नेपालको सबैभन्दा ठुला वैदेशिक व्यापार साझेदार भारत र चीन रहेका छन् । यी मुलुकहरूबाट नै नेपालले सबैभन्दा धेरै आयात गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार नै नेपालको सबैभन्दा नजिका ठुला आर्थिक साझेदार भारत र चीनसँगको व्यापार घाटा उच्च देखिएको छ ।

चालु आवको एक महिनामा भारतसँगको व्यापार घाटा ७२ अर्ब ७६ करोड ७४ लाख रुपैयाँ छ । साउनमा नेपालले ८१ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, ८ अर्ब ४८ करोड २० लाख रुपैयाँ मात्रै निर्यात गरेको छ । 

यता, अर्को छिमेकी ठुलो आर्थिक साझेदार चीनसँगको व्यापार घाटा पनि २१ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ भन्दा माथि नै छ । साउनमा नेपालले चीनबाट २१ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, निर्यात भने एकदमै निराशाजनक छ । समीक्षा महिनामा नेपालले चीन तर्फ ३९ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ । 

तेस्रो स्थानमा भने युनाईटेड अरब इमिरेट्स (युएई) छ । उक्त देशसँग नेपालको व्यापार घाटा २ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बढी छ । साउनमा युएईबाट नेपालले २ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ बराबरको आयात गरेको भने १७ करोड २९ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। 

यस्तै, युक्रेनसँग १ अर्ब ६४ करोड, जर्मनीसँग १ अर्ब ४४ करोड, अस्ट्रेलियासँग १ अर्ब ३७ करोड, इन्डोनेसियासँग १ अर्ब ३१ करोड, अर्जेन्टिनासँग १ अर्ब २५ करोड र फ्रान्ससँग १ अर्ब १४ करोड रुपैयाँ भन्दा माथिको व्यापार घाटा नेपालले व्योहोरेको छ ।

यी हुन् नेपालले वैदेशिक व्यापार घाटा व्यहोरेका देशहरू 

अमेरिकासहित १७ वटा मुलुकसँग भने नाफामा 

चालु आवको पहिलो महिनामा अमेरिकासहित १७ वटा मुलुकसँगको व्यापार भने नाफामा छ । नेपालले सबैभन्दा धेरै निकासी अमेरिका तर्फ देखिएको छ। 

अमेरिकासँगको व्यापारमा नेपाल ६८ करोड २९ लाख रुपैयाँ नाफामा छ  । साउनमा सो मुलुकबाट १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात गरेको छ । तर, १ अर्ब ७७ करोड ६६ लाख रुपैयाँभन्दा बढीको निर्यात गर्न सफल भएको छ । आयातभन्दा निर्यात बढी भएकाले नै अमेरिकासँग नेपालको व्यापार नाफामा छ । 

यस्तै, नेदरल्याण्डसंगको व्यापार ९ करोड ६२ लाख, डेनमार्कसँग ६ करोड ४८ लाख, टर्कीसँग ३ करोड ७४ लाख र रुसी सङ्घसँग १ करोड ११ लाख रुपैयाँ बढीको नाफामा छ । 

प्रतिक्रिया दिनुहोस्