छहरे-टोखा सुरुङ मार्ग निर्माणमा सहयोग जुटाउन तयारी अवस्थामा छौं-अर्थमन्त्री महत



नुवाकोट,भदौ २३ । अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाैंको नुवाकोटको छहरेबाट काठमाडौको टोखा झोरसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाउन कटिबद्ध अवस्थामा रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङ मार्ग निर्माणका लागि चीनसँग सहयोगको लागि अनुरोध गर्ने बताएका हुन् । व्यापारिक गतिविधिमा समेत उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताएका हुन् ।

“प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौँ”, उनले भने, “योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौँ ।”

नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको छहरे-टोखा सडकलाई सुरुङ मार्गमार्फत थप नजिक बनाउन र भविष्यमा दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

सुरुङ मार्ग निर्माणका लागि विभिन्न चरणका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै त्यसका लागि धैर्य गर्न उनले आग्रह गरे । अहिले प्रारम्भिक अध्ययन पूरा भएर वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । अबको एक–दुई दिनमा नै तयार भएपछि चीन भ्रमणको क्रममा उक्त प्रतिवेदनका आधारमा आर्थिक सहयोगको प्रस्ताव लैजाने अर्थमन्त्री डा महतले बताए ।

प्रतिक्रिया दिनुहोस्