टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत



नुवाकोट,भदौ ३० । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । 

शनिबार लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले  चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उनीहरुबाट सकारात्मक जवाफ आएको छ ।’

उनले भने, ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’ 

प्रारम्भिक यसको अध्ययन भइसकेको जानकारी दिदै मन्त्री डा. महतले भने, ‘अब थप डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रकृया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुराउनु पर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’ 

‘निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको जानकारी दिदै उनले भने, ‘यहाँ तिनवटै मन्त्रालयले आएर हेरेको छ । निकुन्जमा पनि समस्या छैन भन्ने कुरा आएको हुनाले निर्माण कार्य अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्