नवरात्रको नवौँ दिन शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौं,कात्तिक २ । नवरात्रको नवौँ दिन आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा रहेका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।
तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मनाइँदै गर्दा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो। ती शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ।
काठमाडौं उपत्यकाबाहिरका प्रमुख शक्तिपीठमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन तथा पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस अवधिमा देवी दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजा आराधना गरिन्छ। नवरात्रमा भक्तजनले श्रद्धापूर्वक देवीको उपासना गर्दै सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा छ।

