सालका पातबाट दुनाटपरी उत्पादन, सात महिलालाई रोजगारी
पाल्पा,कात्तिक २। तानसेन नगरपालिका–२ का सात महिलाले सालका पातबाट दुनाटपरी उत्पादन गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गरेका छन्।
चार लाख रुपैयाँ लगानीमा सञ्चालित ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको छ। उद्योगकी अध्यक्ष कल्पना पौडेलका अनुसार उद्योगबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। उत्पादित दुनाटपरीको माग स्थानीय बजारसँगै बाहिरी जिल्लामा पनि बढ्दै गएको छ।
वनमा खेर जाने सालका पातको सदुपयोग गर्दै सञ्चालन गरिएको उद्योगले महिलाको आयआर्जन बढाउनुका साथै परम्परागत सीप र संस्कृतिको संरक्षणमा सहयोग पुर्याएको छ। दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटलाई विस्थापित गर्नसमेत मद्दत पुगेको उद्यमीहरूको भनाइ छ।
माग बढ्दै गए पनि कच्चा पदार्थ सङ्कलन गर्ने जनशक्ति र मेसिनको अभावमा उत्पादन विस्तार गर्न कठिन भएको उद्योगका सञ्चालकहरूले बताएका छन्। स्थानीय सरकारले थप मेसिन र कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सकिने उनीहरूको अपेक्षा छ।

