हस्तकलाका सामग्री निर्यात गर्दै थारु महिला : अमेरिका सम्म पुग्छ नेपाली सामान



बाँके,भदौ ३१ ।  बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् ।

“हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौँ पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ”, उनले भनिन्, “हस्तकला झन्झटिलो हुने भएकाले मागअनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।”

ढकिया, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेलगायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले बताइन् । थारू हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि व्यवसाय गरिएको जनाउँदै उनले यसले हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको बताइन् । चैधरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले दिएको तीनमहिने ‘थारु हस्तकला उत्पादन’ तालिम लिएपछि महिलाले हस्तकलाका सामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका हुन् ।

हस्तकलाको काम गर्न थालेपछि दुई चार हजारका लागि श्रीमान्को भरपर्न नपर्ने नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी सरिता चौधरीले बताइन् । “उत्पादित वस्तुको बजार अभाव छैन जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ”, उनले भनिन्, “अहिले त विदेश पनि जान थालेको छ ।”

घरमै बसेर थारु महिलाले मासिक करिब रू १५ हजारभन्दा बढी आम्दानी गरिरहेका सरिताले बताइन् । मेहनतअनुसार कुनै महिना त्योभन्दा पनि बढी आम्दानी हुने गरेको उनको भनाइ थियो । उनका अनुसार सामान बनाउन वस्तुको प्रकृति हेरेर समय लाग्ने गरेको छ ।

सामग्री बनाउन लाग्ने समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको नेपालगञ्ज–१२ की विद्या थारुले बताइन् । उनका अनुसार अहिले एउटा सामानको मूल्य ३०० रुपैयाँ देखि शुरू हुन्छ । यस क्षेत्रका महिलाले जङ्गलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउँदै आएका छन् । हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको थारुले बताइन् ।

नेपालगञ्ज–६ फुल्टेक्राकी भागरथी चौधरीले घरको कामधन्धा सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउने गरेको बताइन् । उत्पादित सामग्री बेचेर महिनामा रू आठ-दश हजार कमाइ हुने गरेको उनको भनाइ थियो ।

बाँकेका थारु महिलाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहयोगमा तालिम लिएका हुन् । तालिम लिएपछि आधुनिक र चलन चल्तीका प्लाष्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा हस्तकलाका सामग्री बनाउन थालेको प्रशिक्षकसमेत रहेकी पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्