मुस्ताङमा स्याउ टिप्न आजदेखि शुरु



काठमाडौं,असोज १ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज सोमवारदेखि स्याउ टिप्न शुरु गरिएको छ ।

मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन् ।

पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी शुरु गरेका हुन् । विगतका वर्षहरूमा भदौ दोस्रो हप्तादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न शुरु गरिएको हो ।

मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै छ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बाग्लुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली तथा विदेशी बजारमा पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्