आन्दोलन स्थगित गरी वार्तामा आउन महासंघलाई शिक्षा मन्त्रालयको आग्रह



काठमाडौं,असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालयले घोषित स्रम्पूर्ण आन्दोलन स्थगित गरेर महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका लागि बोलाएको हो ।

मन्त्रालयले शिक्षक महासंघलाई संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्दसहितको काठमाडौं केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी वार्तामा आउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि घोषणा गरेको आन्दोलनका कार्यक्रम प्रति नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको र विधेयकलाई अन्तिम रुप दिनु अघि महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको साथै महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरुलाई यथासक्य विधेयकमा समावेश गरिएको स्पष्ट पारेको छ ।

महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको समेत विज्ञप्तिमा उल्लेख छ । महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्