धानमा फड्के किराको प्रकोपले किसान चिन्तामा



दाङ,असोज २ । दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ । 

जेठको पहिलो साता रोपेको धानको बोट राम्रो भएको भए अहिले बोटमा बाला झुल्ने बेला भए पनि रोगका कारण धान खेतमै सुकेर सेतै भएको छ । रोगका कारण धान सुकेर पहेँलै भएपछि ठुलो क्षति हुने अवस्था आएको किसान पोख्रेल बताउछन । धान रोपेको करिब ७०/८० दिनसम्म राम्रै रहे पनि पसाउने बेला अहिले सबै धानको बोट सुकेर पहेँलो भएको किसान पोख्रेल बताउछन् । 

किसान पोख्रेलले भने, “धानमा किराको प्रकोप देखिएपछि सुरुमा एग्रोभेटमा देखाएको थिएँ । त्यहाँको उपचारले राम्रो नभएपछि गाउँपालिकाको कृषि शाखालाई जानकारी गराएँ, पालिकाबाट कृषि प्राविधिक आएर धानको बोटमा देखा परेको समस्याका बारेमा बुझेर उपचारका लागि सल्लाह दिए । उनीहरूको सल्लाह अनुसार विषादी छर्कें तर धान मर्ने क्रम रोकिएन ।” 

औषधी छिटेको ठाउँमा केही किरा मर्ने गरे पनि जमिनको चिसो र ओसका कारण पुनः किरा देखिइहाल्ने समस्या भएको हुँदा धान खेती खेर जाने अवस्था देखिएको किसान पोख्रेल बताउछन् । भदौको १७÷१८ गतेतिरबाट धानमा देखा परेको रोग भदौको अन्तिममा आइपुग्दा करिब छ कट्ठा खेतमा रोपेको धान सुकेर पराल बनेको उनी बताउँछन्। 

प्रतिक्रिया दिनुहोस्