टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस



काठमाडौं,असोज ४ । बुधबार असोज ३ गते अर्थात् संविधान दिवस । यस अवसरमा बुधबार संविधान दिवस २०८० मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू समारोहमा सहभागी थिए । 

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।

सर्वसाधारणहरूले बाहिर बसेर समारोहको अवलोकन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्