शिक्षकका माग सम्बोधन गर्न एमालेको माग



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको छ । बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्रीसमक्ष आग्रह गरेको बताए । उनले सरकारले आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिए। 

उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति ध्यानाकर्षण पनि गराए । बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बताए ।

सचेतक बर्तौलाले भने, ‘हामीले शिक्षा मन्त्रीसँग शिक्षक महासङ्घले गरेको आन्दोलनबारे कुरा राख्यौँ, विद्यालयहरू बन्द भएको अवस्था छ । तत्काल विद्यालय खोल्ने वातावरण बनाउनु पर्छ । त्यसका लागि सरकारले आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चितता गर्नुपर्छ ।’

सचेतक बर्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकको माग सम्बोधनका लागि सकारात्मक ढङ्गले पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्