‘नेपाल–भारत’ विद्युत व्यापार: व्यापक रुपमा बढ्दैछ निर्यात, दुई महिनामै साढे ५ अर्बको विद्युत खरिद



काठमाडौं,असोज ४ । नेपालले दुई महिनामै साढे ५ अर्बको विद्युत भारतलाई बेचेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको हो ।

नेपाल विद्युत प्राधिकरणले साउनमा भन्दा धेरै विद्युत भदौ महिनामा गरेको छ । प्राधिकरणका अनुसार गत साउनमा १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत भारतीय बजारमा पुगेको थियो । तर, एक महिनामै अर्थात भदौ ७८.८५ प्रतिशतले बढेर ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो ।

साउन र भदौ महिनामा कुल ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ (भारु) को (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्री दर ८ रुपैयाँ १३ पैसारहेको छ । तर, भदौ महिनामा भने यस्तो बिक्री दर १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन लाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । उनले भने–‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ ।’

उनका अनुसार अन्दरदेशीय प्रसारण सञ्जालाई थप विस्तार गरि पूर्ण रुपमा प्रयोगमा ल्यान पहल भईरहेको छ । ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं’– कार्यकारी निर्देशक घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस्