नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो, बनायो कीर्तिमानै-कीर्तिमान



काठमाडौँ,असोज १० । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो ।

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको हो ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि प्रहार गरे ।

कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे । दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।

प्रतिक्रिया दिनुहोस्