हङकङमाथि नेपाल ६ विकेटले विजयी



काठमाडौं,कात्तिक २ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए भने कुशल भुर्तेलले ८, कुशल मल्लले १, सन्दीप जोराले ३ र गुलशन झाले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएपछि नेपालले ९५ रनको लक्ष्य पाएको थियो । हङकङका लागि यासिम मुर्ताजाले सर्बाधिक ३६ रन बनाए भने जीशान अलीले १७ रन बनाएका थिए । यो बाहेक हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने कुशल मल्ल र मौसम ढकालले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्