दसैँ मनाउन उपत्यका छाड्ने यात्रु झण्डै पाँच लाख
काठमाडौँ,कात्तिक १ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको क्रम बढेको हो । यद्यपि, अघिल्ला दिनको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो ।
दसैँका लागि घर फर्किने यात्रुको चाप गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा देखिएको छ ।
दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।

