आज एड्स दिवस: नुवाकोटमा १८१ एचआइभी एड्सका बिरामी, कहाँ कति?



नुवाकोट,मंसिर १५ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । 

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको आकलन भैरहेको बेला नुवाकोटमा भने एचआइभी एड्सका बिरामीको सङ्ख्या ११ जना बालबालिकासहित १८१ रहेको छ ।

एचआइभी एड्सको क्षेत्रमा कार्य गर्दै आईरहेको गैरसरकारी संस्था त्रिशुली प्लसको तथ्यांकअनुसार जिल्लामा १८ वर्ष भन्दा कम उमेरका बिरामी बालिका ७ जना र बालक ४ जना गरी कुल ११ जना रहेका छन् । यस्तै, १८ वर्ष भन्दा बढी उमेरका बिरामी महिला ९६ जना र पुरुष ७४ जना रहेका छन् ।

जिल्लामा एचआइभी एड्सका बिरामी सबैभन्दा बढी दुप्चेश्वर गाउँपालिकामा रहेको संस्थाका कार्यक्रम संयोजक शान्ति घिमिरेले जानकारी दिईन् । जसअनुसार महिला ३८, पुरुष २८, बालिका ३ र बालक २ जना सङ्क्रमित बिरामी रहेको छ ।

यस्तै, विदुर नगरपालिका र तादी गाउँपालिकामा ३५/३५ जना एड्सका सङ्क्रमित रहेका छन् । विदुरमा बालबालिका ४, महिला १५ र पुरुष १६ जना रहेका छन् भने तादीमा महिला २० र पुरुष १५ जना रहेका छन् ।

सङ्क्रमितमा तारकेश्वर गाउँपालिकाका १२ जना, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाका ८/८ जना, पञ्चकन्या गाउँपालिकाका ७ जना, शिवपुरी गाउँपालिकाका ३ जना, लिखु गाउँपालिकाका २ जना र सुर्यगढी, ककनी र म्यागङ गाउँपालिकाका १/१ जना एड्सका सङ्क्रमित रहेका छन् ।

“सङ्क्रमित बिरामी सबैको जीवनयापन र स्वास्थ्य सामान्य छ”, कार्यक्रम संयोजक घिमिरेले भनिन् “समाज र सरकारले हेर्ने दृष्टिकोणमा अझै फरक भएको छैन । सरकारको लक्षित कार्यक्रममा बिरामीहरु परेको छैन । परिवारको आर्थिकस्तर कमजोर हुदाँ बिरामी भने मनोरोगको शिकार भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्