उपप्रधानमन्त्री श्रेष्ठको अवस्था सामान्य, केही दिन अस्पतालमै रहने



काठमाडौँ,मंसिर २०। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।  सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको  ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ ।

असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको बताइएको छ।

मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको उनको भनाइ छ ।  स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पताललाई उदृत गर्दै उनले जानकारी दिए। चिकित्सकका अनुसार उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्