प्रधानमन्त्री कप : एपीएफ र कोशी विजयी



काठमाडौ,पुस८ । विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई  ९० रनले हरायो । लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा उक्लिएको छ । 

जितको लागि एक सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा नौ विकेटको क्षतिमा ६१ रनमा समेटियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी इन्दु बर्माले तीन विकेट लिए । बिनु बुढाले दुई तथा रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ७० रन बनाउनुभयो ।ममता चौधरीले ५९ र कप्तान सीता रानामगरले नौ रन बनाए। बलिङमा लुम्बिनीको सरस्वती पुन र शर्मिला रोकाले एक एक विकेट लिए । जितसँगै एपीएफले तीन खेलबाट ६ अङ्क बनाएको छ । 

यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हरायो । कोशीको पनि यो लगातार तेस्रो जित हो । जितको लागि एक सय ३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा नौ विकेटको क्षतिमा ६९ रन बनायो । मधेशका लागि साना प्रविनले २७ रन बनाए । आरती महतोले १८ रन रन जोडे । 

बलिङमा कोशीका सबनम राई र एलिसा खडियाले दुई दुई विकेट लिए । रुबिना क्षेत्री र सङ्गीता राईले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । 

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५४ रन बनाए । अप्सरी बेगमले ३९ र सबनम राईले १६ रन बनाए। बलिङमा मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक एक विकेट लिए । तेस्रो जितसँगै कोशीले पनि ६ अङ्क बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्