भोटेकोशी बाढीपीडित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण
नुवाकोट,असोज २९ । भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। स्थानीय तहले पहिचान गरेका प्रभावित परिवारलाई दोहोरो सहायता नपर्ने गरी रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका बाढीपीडित परिवारले उक्त राहत रकम प्राप्त गरेका छन्। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ।
गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राही प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग उपलब्ध गराउन चाहेकाले दोहोरो सहायता रोक्न र कुनै पनि प्रभावित परिवार नछुट्ने व्यवस्था मिलाउन सरकारले स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। यसका लागि ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गरिने जनाइएको छ।
बाढीबाट प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि समेत काम भइरहेको सरकारले जनाएको छ।

