आज र भोलि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,असोज २९ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरेको छ। साथै, सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।


