जयशंकरमाथि गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिए
काठमाडौं,पुस २२ । सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाउने वरिष्ठ प्रहरी हवल्दार जिल्लामा तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् । जिल्ला तानेर उनीमाथि छानबिन थालिएको हो ।
गत शुक्रबार बरहथवा–६ को अस्पतालको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो । जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै छ । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए । त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन ।