अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, किसानलाई यस्तो सुझाव
काठमाडौं,कात्तिक ५। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी मंगलबारदेखि एक साताभन्दा लामो समयसम्म वर्षा हुने सम्भावना देखिएको हो।
मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान नमुनाले आगामी मंगलबारदेखि वर्षाको सम्भावना देखाएको बताएका छन्। यद्यपि, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा विभिन्न नमुनाको अनुमान फरक–फरक रहेकाले अहिले नै यकिन गर्न कठिन रहेको उनको भनाइ छ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले किसानलाई धान काटेर सुरक्षित रूपमा भित्र्याउन सुझाव दिएका छन्। आगामी साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भएसम्म त्यसअघि नै धान काटेर भित्र्याउन वा मौसमको अवस्था हेरेर वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने उनले बताएका छन्।
त्यस्तै, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले पनि वर्षा गराउन सक्ने प्रणाली विकसित भइरहेको बताएकी छन्। उक्त प्रणाली नेपालसम्म आइपुग्ने वा नपुग्ने तथा आइपुगेमा कति वर्षा गराउने भन्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिएकी छन्।
मौसमविद्हरूले वर्षाको स्थान र मात्राबारे थप स्पष्ट हुन बाँकी रहेकाले आगामी दिनमा जारी हुने मौसम पूर्वानुमान नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।

