हिमालय एयरलाइन्सले प्राप्त गर्यो ‘आयोसा’ प्रमाणपत्र
काठमाडौँ,पुस २४ । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।
गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी आयोसा प्रमाणीकरण गरेको हो । योसँगै हिमालय एयरलाइन्स विश्वका विमान कम्पनीसरह सुरक्षा मापदण्ड कायम गर्ने विमान कम्पनीका रुपमा दर्ज भएको छ ।
हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हो । सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल चार थान विमान तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ ।