चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी



चितवन,पुस २७ । चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो । 

दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले करिब २२ करोड भुक्तानी लिनुपर्ने छ ।  दुग्ध उद्योगहरूलाई उधारोमा दुध बेच्न बाध्य भएका किसानले भदौदेखिको भुक्तानी नपाएका हुन् । किसानले दुग्ध सहकारीमा दुध बेच्ने गरेका छन् । किसानबाट सङ्कलित दुध सहकारीहरूले उद्योगलाई बिक्री गर्दै आएका छन् । उद्योगबाट भुक्तानी आए किसानले दुधको पैसा पाउँछन्, नत्र पाउँदैनन् । अहिले पाँच महिनादेखिको किसानको दुधको भुक्तानी उद्योगले सहकारीमा पठाएका छैनन् ।

“किसानको दुध खरिद गरेर लैजाने दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दुग्ध सहकारीहरूलाई पाँच महिनादेखिको रकम पठाएनन्, जसले गर्दा किसानले दुध बेचेर पनि पैसा पाएनन,” चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भने, “चितवनका एक सयभन्दा बढी दुग्ध सहकारीले दुधको भुक्तानी पाएका छैनन्, सहकारीमा दुधको भुक्तानी नआउँदा किसान मारमा परेका छन् ।”

सङ्घका अध्यक्ष बगाले किसानको समस्या सुन्ने सरकार नभएकाले समस्या भएको बताए । बाँकी पैसा नभएपछि सम्बन्धित निकायसमक्ष विभिन्न पाँचबुँदे मागसमेत राखेको उनले बताए । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बिमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायतका छन् । 

प्रतिक्रिया दिनुहोस्