ढुङ्गे–त्रिशूली जोड्ने ७० मिटर लामो बेलिब्रिज निर्माण हुँदै, कात्तिक भित्र सक्ने लक्ष्य
नुवाकोट,असोज २९। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ढुङ्गे र त्रिशूली बजार जोड्ने दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन विदुर नगरपालिकाले बेलिब्रिज निर्माण गरिरहेको छ। बाढीका कारण डेढ महिनादेखि प्रभावित बनेको आवागमन खुलाउन विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी ७० मिटर लामो बेलिब्रिज निर्माण भइरहेको हो।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार बेलिब्रिज निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ। सार्वजनिक खरिद ऐनलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपरेकाले निर्माणमा केही ढिलाइ भएको उनले बताए। आगामी कात्तिक २१ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
बेलिब्रिज निर्माणका लागि आवश्यक जग निर्माणको काम पूरा गरी पुल जडानको काम अघि बढाइएको विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिए। उनका अनुसार सडक विभागबाट डिजाइन स्वीकृत गराएर सिद्धकाली निर्माण सेवामार्फत पुल निर्माण भइरहेको छ।
बेलिब्रिज निर्माणमा दैनिक २० जना कामदार तथा १२ वटा स्काभेटरसहितका उपकरण परिचालन गरिएको छ। पुल निर्माणमा विदुर नगरपालिकाले तीन करोड ५१ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ।
गत भदौ १० गते बिहान आएको बाढीले ढुङ्गे र त्रिशूली बजार जोड्ने दुईवटा पक्की पुल ध्वस्त बनाएपछि नदी वारपारको आवागमन प्रभावित भएको थियो। वैकल्पिक मार्ग सञ्चालन गरिए पनि कच्ची र प्रभावकारी नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। विशेषगरी जिल्ला अस्पताल त्रिशूलीसम्म पुग्नसमेत समस्या हुँदै आएको छ।
बाढीपछि विदुर नगरपालिकाले कृषि विकास बैंक पछाडिबाट त्रिशूली बजार जोड्ने स्थान छनोट गरी प्राविधिक अध्ययन र डिजाइन तयार गरेको थियो। नगरपालिकाले सम्पूर्ण खर्च बेहोर्ने गरी बेलिब्रिज निर्माण अघि बढाएको हो।
पुल निर्माणको स्थलगत अध्ययन तथा अवलोकनमा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मालगायत प्राविधिक टोली सहभागी भएको थियो।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि ढुङ्गे र त्रिशूली बजारबीचको आवागमन सहज हुनुका साथै जिल्ला अस्पताल पुग्न र पश्चिमी भेगका बासिन्दालाई सदरमुकामसँग जोडिन राहत पुग्ने अपेक्षा गरिएको छ।

