बाढीमा आमाबाबु गुमाएका २६ बालबालिका आफन्तको जिम्मा लगाइए



नुवाकोट,असोज २९ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा आमाबाबु गुमाएका २६ जना बालबालिकालाई आफन्त तथा नजिकका नातेदारको जिम्मा लगाइएको छ। नुवाकोटको विदुर नगरपालिका–२ शेरास्थित अन्नपूर्ण पञ्चकन्या आश्रयस्थलमा राखिएका उनीहरूलाई पारिवारिक पुनर्मिलन प्रक्रियामार्फत आफन्तको संरक्षणमा पठाइएको हो।

बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका १६ बालिकासहित २६ जना बालबालिकालाई परिवारजन तथा नजिकका नातेदारको जिम्मा लगाइएको विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए।

वडा सदस्य रञ्जन थापामगरका अनुसार बालबालिकाको विस्तृत अध्ययन तथा पारिवारिक अवस्थाको मूल्याङ्कनपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो। गत भदौ १० गतेको बाढीमा आमाबाबु गुमाएका बालबालिकाको संरक्षणका लागि आश्रयस्थल स्थापना गरिएको थियो।

लामो समयसम्म आफन्तबाट टाढा रहनुपरेको र कतिपय बालबालिकालाई आफ्नै आमाबाबुको अन्तिम संस्कारमा सहभागी हुनसमेत कठिनाइ भएपछि परिवारसँग पुनर्मिलन गराउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सम्बन्धित निकायले बालबालिकाको अवस्था र उनीहरूलाई संरक्षण दिन चाहने परिवारको परिस्थितिबारे अध्ययन तथा मूल्याङ्कन गरेको थियो। उत्तरगया गाउँपालिका–१ को वडा कार्यालयबाट नाता प्रमाणित गरिएका कागजातसमेतका आधारमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

२६ जना बालबालिकालाई परिवारजन तथा नजिकका नातेदारको संरक्षणमा पठाइएपछि शेरास्थित आश्रयस्थल खाली भएको छ।

प्रतिक्रिया दिनुहोस्