माघे संक्रान्तिका लागि दुई दिनमा करीब ४ हजार क्विन्टल तरुल भित्रियो, मूल्य पनि घट्यो
काठमाडौं,माघ १ । माघे संक्रान्तिसँगै बजारमा तरुलको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा दुई दिनमा करीब ४ हजार क्विन्टल तरुल भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पुस २७ र २८ गते ३ लाख ९५ हजार २०० किलोग्राम तरुल भित्रिएको जानकारी दिएको छ ।
समितिका अनुसार पुस २७ गते २ लाख २ हजार २२५ र पुस २८ गते १ लाख ९२ हजार ९७५ किलोग्राम तरुल भित्रिएको छ ।
तरुलको आगमन बढेसँगै यसको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतिकिलो ७५ रुपैयाँ औसत मूल्य रहेको तरुलको भाउ आज किलोको ६५ रुपैयाँ छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १३ प्रतिशत कम हो ।