अत्याधिक जाडोका कारण बाँकेका विद्यालयमा बिदा



नेपालगन्ज,माघ ५ । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि बाँकेका चार वटा पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका छन् । 

चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरूले जाडो बिदा गरिएको जनाएका छन् । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाले सूचना प्रकाशित गरेर विद्यालयमा जाडो बिदा दिएका हुन् । 

चिसोले बालबालिकाहरू रुघाखोकी र ज्वरोले पीडित हुन थालेको जानकारी आएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगर शिक्षा शाखाका प्रमुख गोर्ख थापाले बताए। उनले चिसोले बालबालिकालाई समस्या परेकोले तीन दिन विद्यालय बन्द रहने जनाउँदै त्यसपछि पनि चिसो कम नभए पुनर्विचार गरिने बताए । 

सोही प्रकारले जानकी, राप्तीसोनारी र डुडुवा गाउँपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण तीन दिन विद्यालयमा जाडो बिदा दिइएको जनाएका छन् । ‘अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययन र अध्यापन गर्न गराउन कठिनाइ भएकाले आइतवारसम्म पठनपाठन स्थगित गराउन विद्यालयलाई आग्रह गरिन्छ’ राप्तीसोनारी र डुडुवा गाउँपालिकाको सूचनामा भनिएको छ । 

यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जाडोले बालबालिकालाई विद्यालय आउन जान समस्या भएको र स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएकोले जाडो बिदा दिइएको बताए । 

प्रतिक्रिया दिनुहोस्