लगानी सम्मेलनको तयारी अघि बढ्यो, सबैलाई समान प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन



काठमाडौं,माघ ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने बताएका छन् । उनले सबै किसिमका लगानी आकर्षित गर्न समान प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा मन्त्री महतले यस्तो बताएका हुन् । साथै उनले स्वदेशी निजी क्षेत्रलाई पनि सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न आह्‍वान गरेका छन् ।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो । उक्त सम्मेलन वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने छ । सम्मेलनमा खासगरी भारतीय अर्बपतिहरुलाई प्राथमिकता साथ आमन्त्रित गरिएको छ ।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । त्यस्तै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।

शुक्रबार सम्पन्न निर्देशक समितिको बैठकमा विभिन्न मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरका साथै निजी क्षेत्रका छाता संस्था (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श)का अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्