नर्सिङ पढ्दै तिम्ल्याहा दिदीबहिनी



काठमाडौं,माघ २१ । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । 

तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन्  । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएका छन् । उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । 

२०६२ चैत १६ गते वीरगन्जमा जन्मिनुभएका उनीहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त उनीहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे । उनीहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गरे । “बाबु सरुवा भएर जता जान्थे हामीलाई पनि त्यतै लैजान्थे। त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,” तिम्ल्याहामध्येकी अतिकाले भनिन । 

समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामङ्गलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढेका थिए । पढाइमा अब्बल भएकै कारण उनीहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा भर्ना भए । पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक छन् । यसैले गर्दा उनको बेलाबेलामा सरुवा भइरहन्थ्यो । 

उनीहरू कञ्चनजङ्घामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गरे । उनीहरू तिनै जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गरेका थिए । उनीहरूले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । 

तीन जनाका एक जना भाइ छन् । विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाउनुभएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा भए पनि सो पूरा गर्न पाउनु भएन तर आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छन् ।

आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन । छोरीहरूको जन्म पछि उनी थप विषयको परीक्षा दिन वञ्चित भए र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण गरे । 

उनले भने, “मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दै छन्, खुसी लागेको छ ।” 

प्रतिक्रिया दिनुहोस्