उपनिर्वाचनको तयारीबारे छलफल



काठमाडौं,माघ २२ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीबारे दुई जना उपप्रधानमन्त्रीसँग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्तले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधामन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित उनीहरूकै कार्यालयमा छलफल गरेका हुन ।

स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र जिल्ला समन्वय समितिका गरी २५ पद रिक्त छन् । ती पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दुवै जना उपप्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्तले रिक्त पद र आयोगले उपनिर्वाचनका लागि गरिरहेको आन्तरिक तयारीबारे जानकारी दिनुभएको थियो । उनले भने, “छलफलमा उपप्रधानमन्त्रीले उपनिर्वाचनको तयारी गरिराख्न र थप परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने बताए ।” 

राष्ट्रिय सभा सदस्य पदको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्न उपयुक्त हुने बताउँदै आएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको छलफलको क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि जानकारी दिएका थिए । 

आयोगका अनुसार हाल प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छ । स्थानीय तहका १७ वडा अध्यक्ष र गाउँपालिकाको अध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक र गाउँपालिकाका उपाध्यक्षको दुई पद रिक्त छ । त्यसै गरी जिल्ला समन्वय समिति प्रमुखको दुई पद रिक्त छ । 

प्रतिक्रिया दिनुहोस्