नुवाकोटको सामुदायिक विद्यालय जनज्ञान निकेतनका विद्यार्थी पढ्न अब बसमा सरर



नुवाकोट,चैत २७ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्ना विद्यार्थीलाई बस सुविधा दिने भएको छ ।

सामुदायिक विद्यालयमा यस्तो व्यवस्था गर्नेमा जनज्ञान निकेतन विद्यालय जिल्लाको पूर्वी क्षेत्रकै पहिलो विद्यालय बनेको छ।  आगामी शैक्षिक सत्र २०८१ देखि विद्यालय आसपासका विद्यार्थीलाई सहज रूपमा विद्यालय सम्म पुर्याउन विद्यालय बसको व्यवस्था गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले बताए ।

प्रधानाध्यापक लामिछानेले पहिलो चरणमा दाता र विद्यालयको श्रोतमा विद्यार्थी ओसारपसार गर्न सहुलियत रकममा टेन्डर आव्हान गरिएको बताए । ‘हामीले कुण्डला बुढिसेराहुँदै  माथिल्लो भेगका नानीबाबुलाई विद्यालयमा सहज रुपमा आवतजावत गर्न सहजताका लागि परेका छौं ।’ प्रधानाध्यापक लामिछानेले भने-‘थान्सिङ तथा अन्य मुल सडकखण्डमा छुट्टै बसको व्यवस्थापन गर्नेछौं ।’

प्रधानाध्यापक लामिछानेले शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि बस सेवाले टेवा पुग्ने अपेक्षा गरिएको बताए । उनले धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका र स्कुल मर्ज गर्दा समस्यामा परेका विद्यार्थीलाई सुविधा हुने गरी बसको सुविधा उपलब्ध गराउन लागेको बताए । 

उता लिखु गाउँपालिकाले भने यस वर्षदेखि सामुदायिक विद्यालयका बालबालिकाको सहजताका लागि विद्यालय विद्यार्थी सहयोग बस खरिद गर्न लागेको छ । लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले विविध शैक्षिक कार्यक्रममा विद्यालय बस खरिद गर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्