आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग, महिलामाथिको दुर्व्यवहार अस्वीकार्य



काठमाडौं,असोज २८ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका छन्।

सुनारले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो विषयमा उठेका प्रश्नको सत्यतथ्य छानबिन हुनुपर्ने बताएका हुन्। आफूले कुनै गलत काम गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै उनले आफूमाथि छानबिन हुँदा पार्टी, सरकार र राज्यका निकायले आफूलाई संरक्षण गर्न आवश्यक नरहेको बताएका छन्।

उनले आफूमाथि लागेका आरोपको छानबिन हुनुपर्ने भए पनि यस प्रकरणमा जोडिएकी महिलामाथि भइरहेको प्रचार, टिप्पणी र दुर्व्यवहार भने स्वीकार्य नहुने बताएका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गरिरहेकी महिलालाई अनावश्यक तस्बिर, श्रव्य सामग्री र दृश्य सामग्री जोडेर अतिरञ्जित प्रचार गर्नु गलत भएको उनको भनाइ छ।

सुनारले महिलाले विगतमा आफूबाट दुःख पाएको भन्ने आरोपकै आधारमा उनलाई सामाजिक रूपमा लखेट्नु उचित नभएको जिकिर गरेका छन्। आफूमाथि कुनै गल्ती भएको भए प्रहरी वा अदालतमार्फत अनुसन्धान गरी कानुनी कारबाही गर्न सकिने उनको भनाइ छ।

उनले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटकपटक बोलाएको तथा मुद्दा हाल्न भनेको विषय पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। तर, अन्याय भएको भए आफूले नै मुद्दा हाल्ने महिलाको जवाफपछि दुवै जनालाई एकैपटक सिध्याउने धम्की दिइएको र त्यसको केही दिनपछि घटनाक्रम अघि बढेको उनको दाबी छ।

आफूले कुनै विषयमा प्रश्न उठाएकै कारण आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको उल्लेख गर्दै सुनारले आफूमाथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। उनले आफूलाई कारबाही गरिए स्वीकार्य हुने तर सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट हुने दुर्व्यवहार स्वीकार्य नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्