शिवपुरीमा ५० भन्दा बढी पसल तथा होटलको अनुगमन
नुवाकोट,असोज २८ । शिवपुरी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै ५० भन्दा बढी पसल तथा होटलको निरीक्षण गरेको छ। गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण, बजारलाई स्वच्छ तथा व्यवस्थित बनाउने र व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका पसल, करको दायरामा नआएका व्यवसाय, दर्ता प्रमाणपत्रमा उल्लेखित उद्देश्यभन्दा फरक प्रकृतिका व्यवसाय सञ्चालन गरिएको अवस्था तथा खाद्यवस्तुको भण्डारण र सरसफाइको अवस्थाबारे निरीक्षण गरिएको थियो।
विशेषगरी होटल तथा किराना पसलका फ्रिजमा मदिराजन्य पेयपदार्थ, मासु, काँचो तरकारी र पकाइएका खाद्यवस्तु उचित व्यवस्थापनबिना एकै स्थानमा राखिएको पाइएपछि व्यवसायीलाई आवश्यक सुझाव दिँदै सम्झाइबुझाइ गरिएको थियो।
शिवपुरी गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर तामाङ, गाउँपालिकाका अधिकृत सुरेश थापा, राजस्व शाखाका अधिकृत एकनारायण भण्डारी, स्वास्थ्य शाखा प्रमुख रञ्जित सिंह, गुर्जे प्रहरी प्रमुख तथा पत्रकारहरूको उपस्थितिमा अनुगमन गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदीप सापकोटाका अनुसार आगामी दिनमा बजार अनुगमनलाई थप तीव्रता दिइनेछ। दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने र करको दायराबाहिर रहेका व्यवसायलाई कानुनी प्रक्रियामा समेट्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।
गाउँपालिकाले स्वच्छ तथा व्यवस्थित बजार निर्माण, उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण तथा व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले समय–समयमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

