विदुरमा ८०० लिटर अवैध घरेलु मदिरा नष्ट



नुवाकोट,असोज २८ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारबाट प्रहरीले ८०० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ।

घरेलु मदिरा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले पिपलटारस्थित किराना पसल तथा खाजा घरहरूमा जाँच गरेको थियो।

जाँचका क्रममा धिरेन्द्र तामाङले सञ्चालन गरेको सुमी खाजा घर, सन्तोष कुमालले सञ्चालन गरेको लक्ष्मी खाजा घर र देवनारायण कुमालले सञ्चालन गरेको शर्मिला खाजा घरबाट अवैध रूपमा सञ्चय गरी राखिएको करिब ८०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको मदिरा बुधबार साँझ करिब ५ः४० बजे स्थानीय, भद्रभलादमी, जनप्रतिनिधि तथा सञ्चारकर्मीको रोहबरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इकबाल हवारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्