कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक, ६ हजार भन्दा बढि उत्तीर्ण



काठमाडौँ,चैत २९। कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक भएको छ । ईपीएस एचआरडी कोरिया शाखाले २०८० को फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। पहिलो चरणको परीक्षा उत्तीर्ण गरेकाहरूले ०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्नेछ ।

ईपीएस कोरिया शाखाका अनुसार स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ।  त्यसैगरी, नयाँ परीक्षार्थीहरूको दोस्रो चरणमा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा गरिने भएको छ। उक्त परीक्षामा झन्डै ७० हजार परीक्षार्थी सहभागी हुँदैछन् । तेस्रो चरणको परीक्षा २०८१ कात्तिकमा हुनेछ ।

कोरियाले कुल १५ हजार ४४८ जनालाई उत्पादनमूलक क्षेत्रमा लैजाने बताएको थियो । ईपीएस मार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि १ लाख ६३ हजार ६३५ जना नेपालीले आवेदन फारम भरेको ईपीएस एचआरडी कोरिया शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्