एनसेल टावरमा बम विष्फोट



सिन्धुली,चैत २९ । सिन्धुलीको कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तिशाली कुकर बम विष्फोट गराइएको छ। 

बिहीबार बिहान करिब पौने ३ बजेको समयमा टावरमा बम बिष्फोट गराइएको हो। विष्फोटबाट टावरको बाकसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए। 

रातको समयमा टावर परिसरको उत्तरतर्फको तारको जाली काटेर भित्र प्रवेश गरेर बम विष्फोट गराइएको पाइएको खड्काले बताए। ठुलो विष्फोटक वस्तु पड्किएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

विष्फोट लगतै प्रहरी घटनास्थलमा पुगेको बताइएको छ। उक्त टावर परिसर भित्र र बाहिर जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट समेत फेला पारिएको छ। घटनामा संलग्न अपरिचित व्यक्तिको खोजतलास भइरहेको खड्काले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्