एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोली नेपाल भ्रमणमा



काठमाडौं,चैत ३० । एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोली नेपाल भ्रमणमा छ । भ्रमण अवधिमा टोलीले अन्तरदेशीय पत्रकारिताका अभ्यास, सम्बन्ध र अनुभवलाई साटिरहेको बताइएको छ । बिहीवार एमएमसीएको टोलीले मिडिया अध्ययन गराउँदै आएको काठामाडौंस्थित सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी तथा फ्याकल्टीसँग अन्तरक्रिया गरेको छ । 

श्रीलंका र भारतका अनुभवी पत्रकार सम्मिलित उक्त टोलीले भ्रमणको उद्देश्य, नेपाल तथा भारत र श्रीलंकामा भएका पत्रकारिताका अभ्यासका बारेमा छलफल भएको कलेजकी प्रिन्सिपल कविता शर्माले जानकारी दिइन् । कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूले भारत र श्रीलंकाका पत्रकारले भोग्दै आएका समस्या लगायतका विषयवस्तुमा जिज्ञासा राखेका थिए । भ्रमण टोलीका सदस्यहरूले नेपालको पत्रकारितासँग भारत र श्रीलंकको पत्रकारितामा केही समानता र फरक रहेको बताएका थिए । राज्यको नीति र व्यावसायिक सुरक्षाका दृष्टिले सबैतिरका पत्रकारको अवस्था एउटै रहेको उनीहरूको निष्कर्ष थियो ।

एएमसीए नेपाल च्याप्टरकी कोअर्डिनेटर सम्झना पौडेलले हरेक वर्ष आफ्नो देशमा ’मिडिया फेमिलिराइजेसन, कल्चरल एन्ड टुरिजम थ्रु मिडिया’ कार्यक्रम आयोजना गर्ने योजनाको निरन्तरता स्वरुप नेपालले कार्यक्रमको आयोजना गरेको बताइन्। नेपालका समेत पत्रकारहरु सहभागी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, बागमती प्रदेशको राजधानी हेटौंडा, जनकपुरस्थित प्रशिद्ध जानकी तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानको भ्रमण गरेको उनले जानकारी दिइन्। 

टोलीले नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई भेट्ने तय भएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गर्ने निश्चित भएको छ। चैत २५ देखि ३० गतेसम्म भएको भ्रमणमा ११ जना सहभागी छन् । सहभागीहरूले विभिन्न विषयमा आ–आफ्नो देशका सञ्चारमाध्यममा समाचार सामग्री सम्प्रेषण गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्