दक्षिण कोरियाको आम चुनावमा विपक्षी दललाई भारी बहुमत



दक्षिण कोरिया,चैत ३० । दक्षिण कोरियाको आम चुनावमा विपक्षी दल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी र साना विपक्षी दलहरूले राष्ट्रिय सभाको ३०० सिटमध्ये १९२ स्थानमा जित हासिल गरेका छन् । 

चुनावको मतपरिणाम सार्वजनिक भएपछि बिहीवार डेमोक्रेटिक पार्टीका नेता ली जे–म्युङले भने, ‘यो डेमोक्रेटिक पार्टीको विजय होइन । जनताको ठूलो जित हो ।’ 

उनले देशकाे आर्थिक संकट समाधानका लागि सबै पार्टी मिलेर जानुपर्ने प्रतिक्रिया दिएका छन् । ‘डेमोक्रेटिक पार्टीले जीविकोपार्जनको संकट समाधान गर्ने बाटोको नेतृत्व गर्नेछ,’ उनले पत्रकारहरूसँग भने ।

चुनावमा सत्ताधारी पीपुल पावर पार्टी (पीपीपी)ले हार व्यहोरेपछि पार्टीका नेता हान डोङ–हुनले राजीनामा दिएका छन् । यस्तै, प्रधानमन्त्री हान डक–सुले राजीनामा दिने प्रस्ताव गरेका छन् । 

आम चुनावमा वाम झुकाव भएको पार्टीले बहुमत हासिल गरेसँगै राष्ट्रपति युन सुक येओललाई काम गर्न कठिन हुने देखिन्छ । सन् २०२२ मा निर्वाचित युनको कार्यकाल अझै तीन वर्ष बाँकी छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्