भर्ना अभियान सुरु : चार प्रतिशत बालबालिका विद्यालय बाहिर



काठमाडौं,बैशाख २ । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो। 

विद्यालय भर्ना हुने उमेर समूहका करिब ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपनि चार प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर गरेको सरकारी तथ्याङ्क छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सात लाख ९५ हजार विद्यार्थीलाई विद्यालय प्रवेश गराउनुपर्ने छ। दुई लाख १३ हजार बालबालिका अझै विद्यालयको पहुँचभन्दा बाहिर छन्। उनीहरूलाई विद्यालय प्रवेश गराउन अभियान चलाइएको उनको भनाइ छ।

उनले भने, “तथ्याङ्क अनुसार अझै दुई लाख १३ हजार विद्यालय उमेर समूहका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन्। यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन अभियान चलाएका हौँ।’ 

विद्यालय भर्ना अभियानले विपन्न, गरिब परिवारका विद्यार्थीलाई विद्यालयमा ल्याउन सहयोग पुर्‍याउने उनको भनाइ छ। विद्यार्थीलाई विद्यालयमा प्रवेश गराए पनि विद्यालयमा टिकाउनु भने चुनौतीपूर्ण देखिएको उनको भनाइ छ। माध्यमिक तहसम्म पुग्दा धेरै विद्यार्थीले आर्थिक कारण देखाएर विद्यालय छाड्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्