बहुमूल्य बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ



काभ्रेपलाञ्चोक,बैशाख ३ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । 

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए । उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षकए बताए  । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । 

प्रतिक्रिया दिनुहोस्