आइओएफटिसीका लागि ६ खेलाडी छनोट



काठमाडौं,बैशाख ३ । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)का लागि छनोट भएका छन् ।

कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि ग्योरोगीमा चार र एकल पुम्सेमा दुई गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट गरिएको हो । 

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सह आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३–६८ केजीमा एनटीएका सुवासचन्द्र बोहरा पहिलो भए ।

फाइनलमा उनले एनटिएकै आयुष ढुङ्गेललाई पराजित गरे । पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउँदै पहिलो भए । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६–४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण जिते । 

इशिकाले फाइनलमा चन्द्रागिरीकी सुमित्रा बलामीलाई पाखा लगाए । महिलाको ५३–५७ केजीमा चन्द्रागिरीकी सलिना धामी पहिलो भए । 

सलिनाले फाइनलमा चन्द्रागिरीकै रचना कुमाललाई पन्छाए। एकल पुम्सेको पुरुषमा एनटिएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट भए । छनोटसँगै ६ खेलाडीले जनही ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । 

एनटिए टिम च्याम्पियन

प्रतियोगितामा एनटिए टिम च्याम्पियन बनेको छ । एनटिएले ११ स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो । यस्तै नौ स्वर्ण, चार रजत र तीन कांस्य पदक सहित कोटेश्वर दोस्राे भयो ।

तेस्राे स्थानमा प्राप्त गरेको चन्द्रागिरीले आठ स्वर्ण, ६ रजत र आठ कांस्य पदक जित्यो । विजेता टोलीले एक लाख, दोस्रोले ५० हजार र तेस्रो टोलीले २५ हजार रुपियाँ प्राप्त गरेको छ । 

प्रतियोगिताको प्रशिक्षकमा मोतीलाल लामा तथा निर्णायकमा शारदा धिमाल उत्कृष्ट भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कृत गरे। प्रतियोगिताका लागि आइओएफटिसीका निर्देशक दिवाकर महर्जन पनि अमेरिकाबाट नेपाल आएका छन् । 

प्रतिक्रिया दिनुहोस्