५ वर्षमा नेपालीले खाए साढे १० अर्बको अंगुर



काठमाडौं,बैशाख ४ । नेपालले चालू आर्थिक वर्षको ८ महीनामा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको अंगुर आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखी फागुन मसान्तसम्ममा नेपालले १ अर्ब २२ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ८२ हजार ४२६ किलोग्राम अंगुरनेपाल भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ९३ करोड ८९ लाख ७३ हजार रुपैयाँको १ करोड २४ लाख ७० हजार ८५ किलोग्राम अंगुर आयात गरेको थियो । गत वर्षको उक्त महीनाको तुलनामा यो वर्षको सोही अवधिमा अंगुरआयात परिमाणमा ४ प्रतिशतले र मूल्यमा ३० प्रतिशतले बढेको  तथ्यांकले देखाएको छ । 

नेपालले मुख्यत: चीन र भारतबाट अंगुरआयात गर्ने गरेको छ । यो ८ महीनामा सबैभन्दा धेरै भारतबाट अर्थात १ अर्ब ८ करोड ८६ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ४६ हजार ९४ किलोग्राम अंगुर आयात गरेको छ । त्यसैगरी, चीनबाट १३ करोड ३६ लाख ३७ हजार रुपैयाँ बराबरको ६ लाख ३६ हजार ३३२ किलोग्राम अंगुर आयात गरेको छ ।

विभागको तथ्यांक अनुसार पछिल्लो ५ वर्ष ८ महीनामा मात्रै १० अर्ब ४३ करोड बढी मूल्यको २१ करोड ७ लाख १७ हजार ३३३ किलो अंगुर आयात भएको छ ।

नेपालमा स्वस्थ्यकर फलको रूपमा अंगुर आयात गरिन्छ । भने नेपालमा सञ्चालित वाईन उद्योगहरूले कच्चा पदार्थको रूपमा आयात गर्ने गर्छन् । 

अहिले बजारमा जताततै  देखिएका अंगुर भारतीय उत्पादन हुन । प्रसस्तै सम्भावना भएपनि नेपालमा अंगुरको उत्पादन नहुँदा उपभोक्ताहरु विदेशी अंगुर किन्न बाध्य छन् । व्यवसायीका अनुसार नेपालमा अंगुर उत्पादन शुन्य जस्तै हुँदा आयातित अंगुरले बजार धानिरहेको छ ।

‘कसैले आफैले खानलाइ घरमा उब्जाए भने हो नत्र व्यवसायीक हिसावले यसको उत्पादन छैन । उत्पादन नभएकाले आयात कै भरमा चल्नु परेको छ,’ नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले आर्थिक अभियानसंग भने, ‘अगुरको सिजन माघ देखि चैत सम्म हुन्छ । यो समयमा सबै अंगुर भारतबाट आउने गरेको तथा बैशाख देखि चीनबाट  स्टोरेज गरिएको अंगुर आउछन् । जसले गर्दा यसको मूल्य पनि बढ्छ ।’

बनियाँका अनुसार केहि दिन अघिसम्म होलसेल प्रतिकिलो ११०-१२० रुपैयाँको अंगुरअहिले १५०-१६० पुगिसकेको छ । अब स्टोरेज गरिएकको चिनियाँ अंगुर बजारमा आउने हुँदा मल्य बढेरै आउँने बानियाँले बताए । एउटा देशको सकिएपछि अर्को देशबाट आउने भएरै  बजारमा १२ महिना अंगुरदेखिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्