डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ



काठमाडौं,बैशाख ४ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड कायम गरेको छ । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो । सोही दिनका लागि खरिद दर भने १३३ रुपैयाँ २३ पैसा कायम भएको छ ।

पछिल्लो समय डलरको भाउ महँगीरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यसका साथै पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।

तर, डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ ।

यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्