त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निर्यात ठप्प



काठमाडौं,बैशाख ५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट तेस्रो मुलुकमा हुने नेपाली वस्तुको निर्यात रोकिएको छ ।

दुईओटा एक्सरेमध्ये एउटा बिग्रिएको र एउटाबाट मात्रै गर्दा ढिलाइ भएको भन्दै सामान लोड गर्ने मजदूरहरूको युनियनले अवरोध गरेपछि सोमवार निर्यात नभएको फ्रेट फर्वार्डर र सरकारी अधिकारीहरूले  जानकारी दिएका छन् ।

सम्बद्ध सरकारी अधिकारीका अनुसार निर्यात हुने सामान एक्सरे गर्ने एउटा मेशिन १ महीनादेखि बिग्रेर बसेको छ । एउटा मात्र एक्सरेबाट सामान चेक गर्दा पर्याप्त काम नभएको भनी मजदूरहरूले अर्को एक्सरेको काम पनि अवरुद्ध गरेको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका सचिव ईश्वरबहादुर गुरुङले बताए । ‘हामीले पनि अर्को एक्सरे मेशिन तुरुन्त बनाउन आग्रह गरिरहका छौं,’ उनले भने ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले एक्सरे मर्मतसम्भारको जिम्मा लिएको छ । ‘मेशिनको एउटा महत्त्वपूर्ण भाग बिग्रेकाले सञ्चालनमा आउन सकेको छैन । यो भागले मर्मत सम्भारबाट पनि काम गर्दैन भन्ने निश्चित नभई नयाँ खरीद गर्न सक्दैनौं । त्यसैले यसलाई पुन: सञ्चालनमा ल्याउन ढिलाइ भएको हो,’ कम्पनीका निमित्त प्रमुख तुलसी पोखरेलले भने ।

उनले अन्य मेशिनबाट बिग्रेका भाग फेर्न सके फेर्ने नत्र नयाँ खरीद प्रक्रिया थाल्ने जानकारी गराए । नयाँ खरीद गर्नुपर्ने भएमा केही महीना लाग्ने उनको भनाइ छ । उनका अनुसार एउटै एक्सरे पनि निर्यात हुने वस्तुका लागि हाललाई पर्याप्त हुन्छ । एउटा मेशिनले दैनिक ३५–४० टन सामान एक्सरे गर्ने र सामान समयमै आए एउटै मेशिन पर्याप्त हुने पोखरेलको दाबी छ ।

तर, फ्रेट फर्वार्डरहरू एउटा एक्सरे पर्याप्त नभएको बताउँछन् । उनीहरूका अनुसार एउटा मात्र मेशिन हुँदा एक्सरेमा ढिलाइ भइरहेको र यसले समयमै निर्यात गर्न अवरोध पुर्‍याएको छ । ‘आज पठाउनुपर्ने समान भोलि एक्सरे गरेर कहाँ हुन्छ ?’ गुरुङले भने । तैपनि दुवै पक्ष वार्तामा छन् । ‘वार्ताबाटै समस्या समाधान गर्ने प्रयासमा छौं,’ पोखरेलले भने । 

प्रतिक्रिया दिनुहोस्