भोलिदेखि लेखाव्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन



काठमाडौं,बैशाख ५ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा विहिबार र शुक्रबार लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । 

‘दिगो लेखा अभ्यास’ भन्ने थिममा आयोजना गर्न लागिएको सम्मेलनमा लेखा व्यवसायमा  अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अवस्थाका साथै आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा छलफल गरिने आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले जानकारी दिए । 

‘नेपालमा लेखा व्यवसायीहरुको भूमिका र महत्वबारे सरकार र आम सर्वसाधारणकोृ बुझाइ प्रष्ट छैन’ मंगलबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले भने, ‘सरोकारवालाहरुलाई लेखापरिक्षकको भूमिका बुझाउन सम्मेलन महत्वपूर्ण हुन्छ ।’

लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी) का अध्यक्ष आस्मा रेस्मौकी मुख्य वक्ता रहेको सम्मेलनमा एक हजार भन्दा बढीको सहभागीता रहने आइक्यानले जनाएको छ ।आइक्यानले सन् २०२२ मा पहिलो र २०२३ मा दोस्रो लेखा व्यवसायी सम्मेलन गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस्