इजरायलमा २४ घण्टामा दुईपटक ‘युद्ध मन्त्रीपरिषद्’को बैठक, इरानी आक्रमणको जवाफ दिने



एजेन्सी,बैशाख ५ । इरानी आक्रमणको जवाफबारे छलफल गर्न इजरायली ‘युद्ध मन्त्रिपरिषद् बैठक’ बसेको छ । 

इरानले इजरायलमा सयौं मिसाइल र ड्रोनहरूबाट गरेको आक्रमणलाई ध्यानमा राख्दै इजरायली सेना प्रमुखले सोमबार इजरायलले  यसको जवाफ दिने बताएका छन्। उनले मध्यपूर्वमा बढ्दो संकटको डरका बीच आफू प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।

इजरायलले दिएको यो धम्कीको जवाफमा इरानले इजरायली आक्रमणको केही सेकेण्डभित्र जवाफ दिने बताएको छ । आवश्यक परेमा पहिले कहिल्यै प्रयोग नगरिएका हतियार प्रयोग गरिने समेत उल्लेख गरेका छन् । अप्रिल १३ मा इरानले इजरायलमा पहिलो पटक करिब ३०० मिसाइल हमला गरेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार २४ घण्टाभन्दा कम अवधिमा दोस्रो पटक आफ्नो युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । उनीहरूले इरानको आक्रमणको जवाफ दिन बैठक गरेका थिए। यस बैठकपछि इजरायली सरकारले कुनै निर्णय गरेको छैन ।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, नेतान्याहुले शीर्ष अमेरिकी अधिकारी स्टिभ स्कालिससँग कुरा गरेका छन्। प्रधानमन्त्री नेतन्याहुले इजरायललाई बचाउन आफूले जे पनि गर्नुपर्ने बताएका छन् ।इजरायली सेना प्रमुखले भने कि इरानले धेरै मिसाइल, क्रुज मिसाइल, यूएभी प्रयोग गरेर गरेको आक्रमणको इजरायलले पक्कै जवाफ दिनेछ। सेनाका प्रवक्ता डेनियल हगारीले निश्चित समयमा जवाफ दिने बताए ।

इजरायली मिडियाका अनुसार युद्ध मन्त्रिपरिषद्ले धेरै विचारहरू छलफल गरेको थियो। यस छलफलको मुख्य उद्देश्य इरानको ड्रोन आक्रमणको जवाफ दिन र युद्धविना क्षति पुर्‍याउनु थियो।इरानी वरिष्ठ अधिकारी अबोल्फाजी अमोले इजरायली आक्रमणको बिरूद्ध आफ्नो देशले सबै रणनीति तयार पारेको बताएका छन्। उनले इजरायलको आक्रमणका लागि आफ्नो हतियार तयार पारेको बताए ।

इजरायलमा  राष्ट्रिय संकट तथा बाह्य आक्रमण गर्दा वा सुरक्षा निकायका सम्बन्धमा कुनैपनि गम्भिर निर्णय गर्नुपर्दा युद्ध मन्त्रीपरिषद् बैठक बस्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्