छहरे-टोखा सडकमा बढी भाडा लिने विद्यूतीय गाडी स्थानीयले समाते



नुवाकोट,बैशाख ५ ।  छहरे-टोखा सडक खण्डमा मौका छोपेर ज्यादा भाडा लिने विद्यूतीय गाडी स्थानीयले पक्राउ गरेका छन् ।

सवारी साधनको नियम विपरीत बढी भाडा असुल्ने विद्यूतीय सवारीलाई लिखु गाउँपालिका वडा नम्बर ६ का स्थानीयको सक्रियतामा बुधबार दिउँसो पक्राउ गरिएको छहरे अस्थायी प्रहरी पोस्टका असई पुष्प बरालले बताए ।

असई बरालका अनुसार विगतमा समेत बढी भाडा असुलीको गुनासो आउने गरेको र सोही आधारमा बढी भाडा असुल्ने बाग्मती प्रदेश ००१ ज ०५०८ नम्बरको विद्यूतीय गाडीका चालकलाई स्थानीयको अगुवाइमा पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बुझाइएको हो ।

छ्हरेका स्थानीय युवा प्रकाश डङोलले विद्यूतीय गाडीले केहि समय यता नियम विपरीत भाडा असुल्दै आएको बताए । आफू काठमाडौको माछापोखरीदेखि छहरे बजार जान खोज्दा अधिकतम ३ सय रुपैयाँँको टिकट लिन बाध्य भएकाले अन्याय विरुद्धमा उत्रिएको बताए ।

युवा डङोलले भोलिदेखि भाडादर रेट टाँसेर कालो प्लेट वाला गाडीले मात्र यात्रु ओसारपसार गर्न पाउने सहमति भएको बताए । काठमाडौको माछापोखरीदेखि २९ किलोमीटरको दुरीमा ३ सय भाडादर अत्यन्त अब्यवहारिक भएको स्थानीयले बताएका छन् ।

पछिल्लो समय नुवाकोटमा बिजुली गाडीको चर्चा एकाएक चुलिएको थियोे । छोटो दुरी हुँदै छिटो काठमाडौं आवतजावत गर्न सहज हुने बताइए पनि महँगो भाडादरले स्थानीय आजित थिए । ५ सय रुपैयाँको विद्यूतीय चार्जले आवतजावत हुने गाडीको भाडादर भने पेट्रोलियम सवारी भन्दा ज्यादा तिर्नुपरेको उनीहरुको गुनासो छ।

हाल नमस्ते पासाङ ल्ह्यामु यातायात समिति र नेपाल माइक्रोबस समितिको साझेदारीमा ३५ वटा र  टिमुरे यातायात प्रालिद्वारा २८ वटा विद्यूतीय गाडी संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्